काठमाडौं– यातायात व्यवसायीहरुको आन्दोलनविरुद्ध सरकार अझै कडा रुपमा प्रस्तुत हुने भएको छ। अनिश्चितकालीन यातायात हडताल गरे पनि सरकार पछि नहट्ने र उनीहरुलाई कारबाही गरेरै छाड्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताए।
‘जसरी उहाँहरुले पुरानो सरकारलाई डर, धाकधम्की देखाएर आफ्नो पक्षमा निर्णय गराउन सक्नुभएको थियो, अहिले पनि सकिन्छ कि भनेर सोच्नुभएको होला,’ उनले नेपाल लाइभसँग भने, ‘त्यो सम्भव छैन।' यातायात व्यवसायीले २७ गतेदेखि अनिश्चितकालीन हडताल गर्ने बताउँदै आए पनि पहिलेदेखि सरकारले वैकल्पिक व्यवस्था गर्ने मन्त्री महासेठले बताए।
उनले रुट परमिट खारेजदेखि यातायात व्यवस्था ऐनअनुसार सबै किसिमका कारबाही गर्ने तयारीमा सरकार रहेको बताए।
यातायात समिति खारेज गर्ने तथा देशभरि रुट परमिट खुला गर्ने निर्णयविरुद्ध यातायात व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन्। शुक्रबार उनीहरुले गाडी ग्यारेजमा थन्क्याउँदा देशभरि हजारौं यात्रुहरुले दुःख पाएका छन्। सरकारले उनीहरुमाथि कारबाहीको तयारी गरेको छ।
सरकार तानाशाही भयो : यातायात व्यवसायी
नेपाल यातायात व्यवसायी महासंघका पदाधिकारीहरुले भने सरकार तानाशाही भएर प्रस्तुत भएको बताएका छन्। महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य भन्छन्, ‘अहिलेको सरकार हाम्रो लागि तानाशाही भयो, वार्तामा समेत हामीलाई बोलाइएको छैन।’
सरकारले रुट परमिट खारेज गरे पनि आफूहरुको आन्दोलन जारी रहने उनले जिकिर गरे। यातायात व्यवसायीले २७ गतेदेखि अनिश्चितकालसम्म गाडी थन्क्याउने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।