टर्की- टर्की र ग्रिसमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने करिब ८ सय जना घाइते भएका छन्।
भूकम्पमा परी टर्कीमा २४ जना र ग्रिसमा २ जनाको मृत्यु भएको हो। ग्रिसको सामोस टापुमा भवनले च्यापिएर एक किशोर र एक किशोरीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
एजियन सागरलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले टर्कीको समुद्री किनारमा रहेको इज्मिर सहरमा धेरै क्षति पुर्याएको छ। इज्मिरमा मात्रै २० भन्दा बढी भवन भत्किएको मेयर तंक सोयरले जानकारी दिएका छन्। भत्किएका भवनभित्र अझै कति मानिस फसिरहेका छन् भन्ने यकिन जानकारी प्राप्त नभएको अधिकारीले बताएका छन् । केहीलाई भने उद्धार गरिएको छ।
भूकम्पपछि टर्कीको पश्चिमी किनारमा सानो सुनामी पनि आएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्। सुनामीका कारण सहरमा पानी पसेको छ भने घरभित्र भएका सामानहरु पानीले बगाएको तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा सेयर भएका छन्।
भूकम्पपछि १९६ वटा परकम्प गएको पनि टर्किस अधिकारीले बताएका छन्। तीमध्ये २३ वटा पराकम्प ४ म्याग्निच्युडभन्दा माथिका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।