चितवन–जिल्ला प्रहरी कार्यालय चितवनले दसैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ।
चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए। उनीहरुका साथबाट दुई लाख ४६ हजार ७ सय ६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको उनले बताए। उनका अनुसार कात्तिक १ गतेदेखि बिहीबारसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही अघि बढाएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए। सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।