काठमाडौं- सिन्डिकेट कायम राख्न माग गर्दै यातायात व्यवसायीहरुले शुक्रबार गाडीहरु ग्यारेजमा थन्काएका छन्। आफ्नो अनुकुल कानुन बनाउन सरकारलाई दबाब दिन उनीहरुले यसरी आन्दोलन गर्दा हजारौं सर्वसाधरणहरु मर्कामा परेका छन्।
शुक्रबार देशभरी थोरै मात्र गाडीहरु चलेका छन्। सिन्डिकेट खारेजीको पक्षमा रहेका यातायात व्यवसायीहरुले गाडी चलाएका छन्। उपत्यकामा नियमित भन्दा आधा जसो सार्वजनिक सवारी साधन चलेको प्रहरीले जनाएको छ। मयुर, साझा लगायत दर्जनौं कम्पनीहरुले भने यात्रुलाई सेवा दिइरहेका छन्।
यातायात समिति खारेज गर्ने, कम्पनीमा दर्ता गरेपछि मात्र रुट दिइने तथा देशभरीका सडकमा रुट खुल्ला गरेपछि नेपाल यातायात व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको हो। सरकारले ल्याएको नीतिले आफुहरुको अरबौं लगानी जोखिममा परेपछि आन्दोलन गर्नुपरेको यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य बताउँछन्।
सरकारले गत सातामात्र यातायात क्षेत्रमा हडताल तथा आन्दोलन गर्न नपाउने निर्णय गरेको थियो। शुक्रबार सवारी नचलाउनेहरुविरुद्ध रुट खारेजी गरिने यातायात व्यवस्था विभागका एक अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।