काठमाडौं- भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ।
दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत र चीनको बीचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको हो।
भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले भारतको सीमा नमिच्न चीनलाई भनेका थिए। उनले सधैं भारतको पक्षमा भएको दाबी गरेका थिए।
चीनले उनको अभिव्यक्तिलाई चीनको सार्वभौमिकतामाथि हनन भएको भनेको छ। ‘अमेरिकी अधिकारीहरुले बारम्बार झुटो बोलिरहेका छन् र चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यो कूटनीतिको आधारभूत सिद्धान्तको बर्खिलाप हो।’
भारत र चीनले रक्षा सम्झौता गरेका थिए। दूतावासले भारत र चीन बीचको सीमा विवाद दुईपक्षीय भएको र यसलाई समाधान गर्नका लागि बारम्बार वार्ता भइरहेको समेत उल्लेख गरेको छ।
‘भारत र चीनसँग आफै असहमतिहरुलाई ठीक ढंगले समाधान गर्ने ज्ञान र क्षमता राख्दछन्’, विज्ञप्तिमा भनिएको छ, ‘तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ छैन।’
भारत र चीनको बीचमा भएको लद्दाखको सीमा विवादमा वार्ता भइरहेको समयमा अमेरिकी प्रतिक्रिया गलत भएको दाबी दूतावासले गरेको छ। केही समयअघि लद्दाखमा चीन र भारतका सैनिकबीच भएको झडपमा १० जना भारतीय सैनिकको ज्यान गएको थियो। उक्त भडपपछि भारत र चीनका बीचमा कैयौं पटक झडप भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।