काठमाडाैं-नेपालसँग जोडिएको भारतको बिहार विधान सभाको चुनाव आजदेखि हुँदैछ। कुल २४३ सिटका लागि हुने चुनावका लागि निर्धारित तीन चरणमध्ये ७१ सिटका लागि आज मतदान भइरहेकाे छ।
चुनावमा दुई गठबन्धन छन्। सत्ताधारी भारतीय जनता पार्टी (बिजेपी) र जनता दल यूनाइटेड (जेडीयू)को गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस र बामपन्थी दलहरु (सीपीआई, सीपीएम र सीपीआई-एमएल)ले 'महागठबन्धन' गरेका छन्।
केही सर्वेक्षण र चुनावअघि भएका सभाहरुलाई विश्लेषण गर्दा सत्तारुढ दल बिजेपीलाई बिहारमा जित मुस्किल हुने देखिएको छ।
बिहारमा सत्तारुढ बिजेपी–जेडीयू बिरोधी बढ्नुको मुख्य कारण बेरोजगारी हो। जुन एजेन्डा आरजेडीका नेता तेजस्वी यादवले सेट गरिदिएका छन्। तेजस्वीले घोषणा गरेका छन्-आफूले जिते मन्त्रिपरिषदकाे पहिलो बैठकमै राज्यका दश लाख बेरोजगारलाई स्थायी जागिर दिइनेछ। कसरी दिइएला? प्रश्न त उठेको छ तर बेरोजगार युवाहरु उनको यो घोषणा ति आशावादी छन् र चुनावी सभामा ठूलो संख्यामा उनीहरु देखिएका छन् । समर्थन गरिरहेका छन् ।
बिजेपीलाई यो घोषणाको ठूलो असर पर्यो। उसले १९ लाखलाई रोजगार उपलब्ध गराउने घोषणा गर्यो तर सरकारी जागिर दिलाउने तेजस्वीको आश्वासनतर्फ झुकाव बढेको पाइन्छ।
तेजस्वी यादवसँग धेरै झुकाव देखिनुमा लालु यादवले बनाएको मुस्लिम–यादवको समीकरणका अलावा धेरै श्रमिक पनि छन्। जो कोरोनाका कारण अन्य प्रदेशबाट बेरोजगार भएर घर फर्किन बाध्य भएका थिए।
जबकि पिछडिएका र दलित वर्ग जेडियू–बिजेपीका पक्षमा देखिन्छन्। जसलाई केन्द्र र बिहार सरकारबाट आर्थिक सहयोग र अन्न पनि दिइएको थियो। अति पिछडिएका र महिलादलित वर्गमा अझै नीतिशकुमारको असर बाँकी पनि छ। १५ वर्षको सत्ताबिरुद्ध आरजेडी र बामपन्थी दलले गरेको आक्रामक प्रचारले पनि सत्ताबिरोधी माहोल बनेको छ। तर कांग्रेस कमजोर छ। टिकट वितरणमा भएको गडबडीदेखि संगठनमा रहेको विवादका कारण समस्या पर्ने देखिन्छ। ७० सिटको हिस्सेदार कांग्रेसले ठीकठाक परिणाम ल्याएन भने महागठबन्धन समस्यामा पर्न सक्छ। यो जनतान्त्रिक गठनबन्धनका लाग ठूलो राहतको विषय हो।
लोक जनशक्ति पार्टी (एलजेपी)सँग जोडिएका कारण जनतान्त्रिक गठबन्धन पनि समस्यामा छ। एलजेपीका अध्यक्ष चिराग पासवानले मुख्यमन्त्री नीतिशकुमार विरुद्ध तीखो प्रहार गरिरहेका छन्। सुरुमा बिजेपीबाट प्रेरित ठानिएको थियो तर पछि बिजेपीले आफ्नो कुनै सहयोग र समर्थन नरहेको घोषणा नै गर्याे।
प्रधानमन्त्री मोदीलाई समर्थन भए पनि नीतिश कुमारको गठबन्धनलाई सघाउन नसक्ने भन्दै उक्त पार्टीले यसपल्ट एक्लै निर्वाचन सामना गरिरहेको छ। जसको असर जनतान्त्रिक गठबन्धनलाई पर्नेछ। नीतिशकुमारलाई अब मोदीको चुनावी अभियान र केन्द्र सरकारले गर्न सहयताको भरोसा छ। जसले चुनावको यो डुंगा पार लगाउन सक्छ।
अर्कोतर्फ महागठबन्धनका युवा नेता तेजस्वीको तेज बढ्दो छ। उनको चुनावी सभाको भीड र सामाजिक सञ्जालमा हुने कमेन्ट र लाइकमा नीतिशकुमार १२ गुणाले पछि परिरहेका छन्।
तर भारतीय सञ्चारमाध्यमका पोलचाहिँ जनतान्त्रिक गठबन्धन नै सत्तामा टिकिरहने सम्भावना बताइरहेका छन्।
पहिलो चरणको मतदानसम्म सिधा–सिधा चुनावी टक्कर देखिन्छ एनडिए र महागठबन्धनबीच । जुन संकेत पहिलो मतदानले दिन्छ, त्यसले अन्य चरणमा पनि अर्थ राख्छ। सन् २०१५ को जेडीयू-आरजेडीको महागठबन्धनलाई ४६ सिटमा जित हासिल भएको थियो।
फेसबुकमा नीतिशभन्दा तेजस्वी १२ गुणा लोकप्रिय
एनडिएका तर्फबाट नीतिशकुमार फेरि मुख्यमन्त्रीका उम्मेदवार छन्। अर्को महागठबन्धनका तर्फबाट तेजस्वी यादव। इन्डिया टुडेको डाटा अनुसार इन्टेलिजेन्स युनिटले २५ सेप्टेम्बरदेखि २५ अक्टोबरसम्मका दुवै नेताको फेसबुक लोकप्रियता विश्लेषण गरेको थियो। दुवै जनाको फेसबुक पेजमा १५ लाख लाइक छन्। तर उनीहरुलाई प्राप्त हुने कमेन्ट र लाइकमा भने ठूलो अन्तर छ।
यो एक महिनामा नीतिश कुमारले ६७ पोष्ट गरे। ती सबै गरेर उनलाई ३ लाख ७० हजार लाइक्स प्राप्त भएका छन्। उता तेजस्वीले ९४ फेसबुक पोष्ट गरे। उनलाइ ४७ लाखभन्दा बढी लाइक्स प्राप्त भए। जुन नीतीश कुमारभन्दा लगभाग १२ गुणा बढी हो।
नीतिश कुमारका प्रत्येक पोष्टमा ५५७२ लाइक छ भने तेजस्वीलाई ५१०००। सबैभन्दा पेचिलो कुरा के छ भने नीतिशकुमारको पोष्टमा हुने धेरै रियाक्सन उपहासका छन्। उनलाई ३४ हजारले हाहा रियाक्सन गरेका छन् तर तेजस्वीलाई भने १४ हजारले मात्रै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।