नयाँ दिल्ली- चीनसँगकाे विवाद रहेकै अवस्थामा विश्वका दुई शक्ति राष्ट्रहरू अमेरिका र भारतका बीच मंगलबार एक महत्वपूर्ण बेसिक एक्सचेन्ज एन्ड कोअपरेशन सम्झाैता (बेका) मा हस्ताक्षर भएकाे छ।
लद्दाख घाटीमा भारतीय सैनिककाे ज्यान जाने गरी भएकाे घटनापछि भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको समयमा यो सम्झौता भएकाे हाे। यसलाई दई शक्तिशाली देशका बीचमा भएकाे सम्झाैताकाे रुपमा निकै महत्त्वका साथ हेरिएको छ। सो सम्झौताअनुसार रक्षासम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सालगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुनेछ।
सो सम्झौताअनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउनेछ। सो सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने बताइएको छ। दुई देशको बीचमा मंगलबार नै भएको टु प्लस टु बैठकपछि सो सम्झौता भएको हो।
टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो। सोही बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री सोमबार भारतको भ्रमणमा आएका थिए।
भारतकाे अखण्डताकाे पक्षमा अमेरिका छ : अमेरिकी विदेशमन्त्री पम्पिओ
हाल भारत भ्रमणका क्रममा रहेका अमेरिकी विदेशमन्त्री माइक पम्पिओले अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा रहेको बताएका छन्।
उनले भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि लद्दाखको गलवानमा गत जुनमा भारत र चीनबीच भएको झडपको विषयमा बोल्दै उक्त घटनामा अमेरिका भारतको साथमा रहेको बताएका हुन्।
समाचार एजेन्सी एएनआईले विदेशमन्त्री पोम्पिओलाई उद्धृत गर्दै भनेको छ, ‘म संसारको सबैभन्दा ठूलो लोकतन्त्रका लागि आफ्नो ज्यान दिने सैनिकलाई श्रद्धाञ्जली दिन नेशनल वार मेमोरियल पुगेँ। जसमा पीएलए (चिनियाँ सेना)सँगको झडपमा ज्यान गुमाएका २० जना सेना पनि छन्। भारतको अखण्डता र स्वतन्त्रताको लडाईंमा अमेरिका उसको साथमा छ।’
उनी पछिल्लो समय निरन्तर चीनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।