काठमाडौं- यो वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन। काठमाडौंको हनुमानढोका दरवारमा रहेको तलेजु भवानीको मन्दिर कोरोना संक्रमण जोखिमकै कारण सर्वसाधारणका लागि खुला नगरिएको हो।
यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने परम्परा छ। बडादसैँको नवमीको दिन मात्रै खुल्ने भएकाले उक्त दिन दर्शनार्थीहरुको भिड लाग्ने गर्दथ्यो। यसअघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले रातिदेखि नै लाइन बसी दर्शन गर्दै आएका थिए।
तर कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुला नगरिएको हो। नेपाल सरकारले पनि औपचारिक सूचना जारी गरी कुनै पनि शक्तिपीठ तथा मठमन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ।
तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइए पनि भक्तालुहरुले भने बन्द मन्दिरको मूल ढोकामा बाहिरवाट पूजा गरेर फर्किएका छन्।
मनोकांक्षा, भाकल पूरा हुने विश्वासमा तलेजु भवानीलाई पूजा गर्ने चलन छ। नेपालभर रहेका देवी मन्दिरहरुमध्ये तान्त्रिक विधि अनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पनि पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।