काठमाडौं-भूकम्पपछि पुनर्निर्मित दरबार हाइस्कुलको उद्घाटन भएको छ। २०७२ बैशाखमा गएको विनासकारी भूकम्पका कारण क्षति भएको दरबार हाइस्कुल केही समयअघि निर्माण सम्पन्न भएको थियो। बुधबार राष्ट्रपति विद्यादेवी भन्डारीले रानीपोखरीसँगै दरबार हाइस्कुलको समेत उद्घाटन गरेकी हुन्।
भूकम्पपछि भत्किएको दरबार हाइस्कुल चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो। चीनले गत माघमा निर्माण सम्पन्न गरेर सो स्कुल हस्तान्तरण गरेको थियो।
काठमाडौं महानगरपालिका-२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो। भवनको ठेक्का चिनियाँ कम्पनी संघाई कन्सट्रक्सनले लिएको थियो। ८५ करोडको लागतमा निर्माण गरिएको चार तले सुविधासम्पन्न भवनमा ४० कक्षा कोठा छन्।
दरबार हाइस्कुलको भवन निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड १९ का कारण हस्तान्तरण ढिलाइ भएको थियो।
२०७२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त हाइस्कुलको पुनर्निर्माणका लागि २०७५ साल साउन १८ गते शिलान्यास भएको थियो। जंगबहादुर राणाले बेलायतबाट फर्केपछि नेपालमा पनि औपचारिक शिक्षाको सुरुवात गर्नुपर्ने महसुस गरी १९१० सालमा स्कुल संचालन गरेका थिए।
राणाले अंग्रेजी भाषा सिकाउनकै लागि भनेर बेलायतबाट अंग्रेजी शिक्षकसमेत झिकाएका थिए। स्कुलको प्रारम्भमा कक्षाहरु छुट्याइएको थिएन। थापाथलीबाट सुरु भएको स्कुलमा पढ्ने विद्यार्थीहरुमा जंगबहादुरका छोरा र भतिजाहरु थिए। पछि १९४८ सालमा मात्रै रानीपोखरी अगाडि दरबार हाई स्कुलका लागि छुट्टै भवन बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।