काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू भएका विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न अभिभावकलाई अनुरोध गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गरिए पनि केही विद्यालयहरुमा पुरानो पाठ्यक्रमअनुसार नै पढाइ हुँदै आएको गुनासो आएकाले कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मूल्यांकन गर्ने जनाएको छ।
यस्तै, आगामी शैक्षिक वर्षदेखि कक्षा १२ मा नयाँ पाठ्यक्रमअनुसार नै पठनपाठन तथा माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा सञ्चालन हुने भएकाले नयाँ पाठ्यक्रम लागू गरिएका विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न अभिभावकलाई आग्रह गरिएको छ। मन्त्रालयले नयाँ पाठ्यक्रम अनुसार पढाइ भए–नभएको अनुगमन गर्न पनि स्थानीय निकायलाई अनुरोध गरेको छ।
केही समय अघि निजी विद्यालयका छाता संगठनहरुले नयाँ पाठ्यक्रम लागू गर्न नसकिने उल्लेख गर्दै यो वर्ष पुरानै पाठ्यक्रमअनुसार पढाउने बताएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।