काठमाडौं- नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ।
सोमबार ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
उक्त सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि ९० दिन सम्म प्रवेशाज्ञा नलिकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन्।
उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरे। यस सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमण लगायत अन्य गतिबिधिहरू बढाउन सहयोग पुग्नेछ।
त्यसैगरी पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भइरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि यहाँ हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्नेछ।
हस्ताक्षर कार्यक्रमपश्चात आफ्नो धारणा साटासाट गर्दै दुवै पक्षले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशिल र सक्रिय बनाउनुपर्ने विषयमा जोड दिए।सो अवसरमा उनीहरुले कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनुपर्ने विचार साटासाट गरे। छलफलमा द्विपक्षीय लगानी प्रवर्द्बन, पर्यटन प्रवर्द्बन एवम् आपसी हितका विषयहरू पनि समावेश भएका थिए।
उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका तथा नेपाली दूतावास ओमानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।