कटारी- उदयपुरको कटारीमा गए राति जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
कटारी नगरपालिका १४ भदौरेमा बा २० च ७१७१ नम्बरको स्कार्पियो जीप शनिबार राति एक बजे सडकबाट तल खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो।
ज्यान गुमाउनेमा चार पुरुष र एक महिला छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार मृतकमध्ये ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ । बाँकी दुई पुरुष र एक महिलाको पहिचान खुलेको छैन ।
दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।