महोत्तरी–प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमणमुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ।
प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ। यीमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए। यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ। सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ।
गत चैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा सङ्क्रमण बढ्दै गएको हो । चैतदेखि असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ । भदौमा मात्रै पाँचहजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो । भदौमा सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झाले बताए।
वैशाखमा ९२, जेठमा एकहजार ९१९, असारमा एकहजार ८९७ र साउनमा तीनहजार ५४ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसैगरी असोजमा दुईहजार माथि सङ्क्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।