ललितपुर- ललितपुरका सबै सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार साँँझ एक सूचना जारी गर्दै कात्तिक २ देखि अर्काे सूचना नभएसम्मका लागि जिल्लाभरका अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो।
'काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। कार्यालयहरूको भिडभाड घटाउन कात्तिक २ देखि अर्को सूचना जारी नभएसम्म ललितपुर जिल्लाका सबै सरकारी कार्यालयले दिने अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ,' ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले नेपाल लाइभसँग भने।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, सुरक्षा निकाय र सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए। अत्यावश्यक बाहेकका सामान्य सेवा खुला गर्ने विषयमा प्रशासनले पुनः अर्को सूचना जारी गर्ने उनको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।