काठमाडौं- सर्वाेच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ। आयोगले मिति २०७७ असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको लागि आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो।
लिखित परीक्षामा प्रतिस्पर्धात्मक रूपमा सामेल भई उत्तीर्ण भएका तीन जना अन्तर्वार्ताको लागि सिफारिस भएका थिए। २०७७ असार ३१ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो तर देशभर कोरोना भाइरसका कारण लकडाउन भएकाले अन्तर्वार्ता स्थगनको सूचना जारी भयो। स्थगित भएको परीक्षा असोज २९ गते गर्ने भनी लोकसेवा आयोगले सूचना जारी गर्यो।
यसरी लिखितमा नाम निस्केनेमध्येका एक जना प्रतिस्पर्धी रमेशराज सुवेदी कोरोना संक्रमित भए। कोरोना संक्रमित भएर आइसोलेनमा बसेको समयमा लोकसेवाले नयाँ परीक्षाको सूचना जारी गरेपछि उनी सर्वोच्च पुगेका थिए।
सर्वोच्चले उनको निवेदनमा सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश मनोजकुमार शर्माको इजलाशले नयाँ विज्ञापन प्रकाशन गर्ने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको हो।
विज्ञापनको लिखित परीक्षा नतिजा प्रकाशन सम्मको सम्पूर्ण प्रकृया रद्द गर्ने सूचना प्रकाशित भएको सूचना हाललाई यथास्थानमा राख्न भनिएको छ।
२०७७ असोज २९ को सूचनाअनुसार परीक्षा संचालन भएमा निवेदक सुवेदीले परीक्षामा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने सर्वोच्चको आदेशमा उल्लेख छ। आन्तरिक प्रतिस्पर्धाबाट छानिने भएपनि उनी एक प्रतिस्पर्धी भएकाले सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदकलाई अपुरणीय क्षति पुग्ने देखिँदा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म लोक सेवा आयोगको परीक्षा विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदमा नगर्न सर्वोच्चले भनेको हो।
उक्त विज्ञापनको कामकारबाहीले जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्नू भनी सर्वाेच्चले लोक सेवा आयोगको नाममा आदेश जारी गरेको हो।
सर्वोच्चले एक संक्रमितको हकमा यो आदेश जारी गरेको भएपनि कोभिड- १९ भएर संक्रमित अवस्थामा रहेका व्यक्तिहरुलाई परीक्षामा समावेश नगर्ने लोकसेवाको सूचना गैरकानुनी हुने देखिएको छ। कोभिडकै कारण रोजगारी पाउने मौलिक हकबाट लोकसेवा आयोगले वञ्चित गराउन खोज्नु आफैँमा गैरकानुनी थियो। सर्वोच्चले एक परिक्षार्थीको हकमा बोलेपछि अन्यको हकमा पनि आयोगले ध्यान दिनुपर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।