बाजुरा– बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन्।
बिहेलगत्तै श्रीमानको मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा बैसाख १४ गते शुक्रबार नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
साविक गाविस र हालको नगरपालिकालाई जानकारी गराए पनि कसैले नागरिकताको पहल नगरेको गुनासो सुनाउँदै सपनाले पत्रकारलाई जानकारी गराएपछि मात्रै नागरिकताका लागि सुनुवाइ भएको बताइन्।
नगरपालिका, प्रहरी प्रशासनसँग सहकार्य गरी सपना बादीको नागरिकता बनाउन नेपाल पत्रकार महासंघ बाजुराले पहल गरेको थियो। महासंघका अध्यक्ष प्रकाश सिंहको पहलमा सपना बादीले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।
अर्काको छाप्रोमा बस्दै आएकी सपनालाई पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले नागरिकता बनाउन यातायात खर्चसमेत सहयोग गरेको सपना बादीले बताइन्।
सपनाले बूढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भवनसिंह केसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएकी हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।