तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ।
अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताए। मंगलबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गरेका हुन्।
सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोकासमेत उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले पहिलो चरणमा अपांगता परिचयपत्र पाएकालाई मात्र बाख्रा वितरण गरिनेसमेत जानकारी दिए।
कार्यक्रमका नगर अपांग सञ्जालका संयोजक दोलकबहादुर खत्रीले आफूहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरेकोमा खुशी व्यक्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।