एजेन्सी–भारत कर्नाटकको एक अदालतले बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको छ। समाचार एजेन्सी पिटीआइका अनुसार कर्नाटक तुमाकुरुको अदालतले कंगनाको एक ट्वीटलाई लिएर यस्तो आदेश गरेको हो।
कंगनाले कृषि विधेयकको विरोधमा रहेका किसानहरुमाथि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन्। अदालतले उजुरीकर्ता अधिवक्ता एल रमेश नाइकको निवेदनमा यस्तो आदेश दिएको हो।
अदालतले नाईकले कंगनाको ट्वीटरमाथि छानबिन हुनुपर्ने माग उपयुक्त रहेकाले दण्ड संहिता अनुसार निवेदन दर्ता गरेर अनुसन्धान गर्न भनेको छ।
अदालतले प्रहरीलाई उजुरीको कपी दर्ता गर्न र अनुसन्धान गर्न भनेको हो। २१ सेप्टेम्बरमा कंगनाले किसानको प्रदर्शनलाई लिएर ट्वीट गरेकी थिइन्। व्यापक विरोध भएपछि उनले पछि उक्त ट्वीट डिलिट गरेकी थिईन्।
प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले ल्याएको कृषि विधेयकविरुद्ध किसान सडकमा उत्रिएका थिए। रनावतले सरकारको समर्थन गर्दै किसानको विरोधमा ट्वीट गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।