तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १ सय ५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ।
गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुई दिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १ सय ५५ जनालाई नागरिकता वितरण गरेको हो।
गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिलालाई नागरिकता वितरण गरिएको शिविर टोलीका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए।
नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने ध्येयले प्रशासनले जिल्लाका सबै स्थानीय तहका केन्द्रमा घुम्ती शिविरको आयोजना गरी नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।
संघीयता कार्यान्वयनको चरणमा जिल्लामा रहेका सबै सरकारी कार्यालयका सेवा सुविधा गाउँगाउँमा पुगेका तर नागरिकता प्राप्त गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता नागरिकमा रहिरहेका कारण नागरिकको सुविधाका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी खनालले स्पष्ट पारे।
कार्यालयले यसअघि लालीगुराँस नगरपालिका र फेदाप गाउँपालिकामा समेत घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।