एजेन्सी–विवादित नागोर्नो कारावाख क्षेत्रको नियन्त्रणलाई लिएर युद्ध लडिरहेका आर्मेनिया र अजरबैजान अस्थायी युद्धविरामका लागि सहमत भएका छन्।
रुसको मध्यस्थतामा मस्कोमा १० घण्टासम्म चलेको वार्तामा दुवै देश शनिबार मध्यान्हदेखि युद्धविराम गर्न सहमत भएका हुन्। रुसी विदेशमन्त्री सर्गेई लाभारोभले दुवै देश अस्थायी युद्धविरामका लागि सहमत भएको जानकारी दिएका हुन्।
सहमतिअनुसार दुवै देशले युद्धमा मारिएका आफ्ना सैनिकका शव लैजानेछन् भने युद्धबन्दी आदानप्रदान गर्नेछन्।
रुसी विदेशमन्त्री लाभारोभले अस्थायी युद्धविरामपछि स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले वार्ता जारी राख्ने बताएका छन्। दुवै देशबीच विदेशमन्त्रीस्तरमा वार्ता भएको हो।
विवादास्पद क्षेत्र नागोर्ने काराबाखको विषयमा दुवै देशबीच २ साताअघि युद्ध सुरु भएको थियो। हालसम्म ३ सयभन्दा बढी मानिस मारिएका छन् भने हजारौं मानिस घर छाडेर भागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।