एजेन्सी–भारतको छत्तीसगढमा एक २८ वर्षीय मेडिकल विद्यार्थीले जातीय उत्पीडनमा परेको भन्दै आत्महत्या गरेपछि विरोध प्रदर्शन सुरु भएको छ।
परिवारका अनुसार गरिब र तल्लो जातको भनेर कलेजका माथिल्लो तहका विद्यार्थीले लगातार हतोत्साही बनाएपछि जबलपुर मेडिकल कलेजमा अध्ययनरत भागवत देवांगनले झुण्डिएर आत्महत्या गरेका थिए। यद्यपि कलेजले यो आरोपलाई अस्वीकार गरेको छ।
यो विषयमा परिवारको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरे पनि अझै एफआइआर दर्ता नभएको बताइएको छ। परिवारले भागवनका ५ सिनियर डाक्टरविरुद्ध उजुरी दर्ता गरेका छन्।
भागवतले मध्यप्रदेशको जबलपुरस्थित नेताजी सुभासचन्द्र बोस मेडिकल कलेजमा अर्थोपेडिकमा पिजी गरिरहेका थिए। उनका दाजु प्रल्हाद देवांगनले आफ्ना भाइले आफूलाई सिनियरहरुले गरिब र तल्लो जातको भन्दै शारीरिक र मानसिक यातना दिने गरेको बताएको जानकारी दिए। कलेजलाई यस विषयमा जानकारी भए पनि हस्तक्षेप नगर्दा भाइ मर्नुपरेको उनले बताए।
यसअघि पनि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।