एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कोभिड १९ को उपचार पूरा भएको उल्लेख गर्दै यसै साताको अन्त्यसम्म सार्वजनिक कार्यक्रममा फर्कने जनाएका छन्।
यो शनिबार संक्रमणको १० दिन पूरा भएपछि सार्वजनिक कार्यक्रममा जान उपयुक्त हुने चिकित्सकको ‘ग्रीन सिग्नल’ पछि ट्रम्पले उक्त कुरा बताएका हुन्। उनको शुक्रबार एकपटक पुनः कोभिड परीक्षण हुने बताइएको छ।
ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा डा सिन कोन्लेले ट्रम्पमा उपचार प्रभावकारी भएको र अब उनको स्थिति पूर्ण रुपले स्थिर रहेको जनाएका छन्। उनको स्वास्थ्य स्थिति बिग्रनेमा चिन्ता गर्नु नपर्ने चिकित्सकको भनाइ छ।
शुक्रबारको परीक्षणमा नेगेटिभ रिपोर्ट आए साताको अन्त्यमा एक चुनावी र्यालीमा भाग लिने ट्रम्पले जनाएका छन्। एक निजी च्यानललाई दिएको अन्तर्वार्तामा उनले शनिबार साँझ फ्लोरिडामा आयोजित चुनावी सभामा सहभागी हुनसक्ने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।