रसुवा– कमाइ गर्न भारतको हिमाञ्चल पुगेका रसुवाको यार्सा गाउँका नागरिक थातथलो फर्केर भूकम्पपछिको निजी आवास निर्माणका कस्सिएका छन्।
लामो समयदेखि हिमाञ्चलमा रोजगारी गरिरहेका १५ परिवार गाउँ फर्केर धमाधम घर निर्माण गरिरहेको नौकुण्ड गाउँपालिका २ यार्साका लाक्पा तामाङले बताए।
उनले भने, ‘हाम्रो गाउँबाट कमाउन प्रायः उतै जान्छन्। घर बनाइसकेपछि उनीहरु फेरि उतै फर्किन्छन्।’
गाउँ फर्किएकाहरु भूकम्पले पूर्ण क्षति गरेको घर निर्माणमा जुटेका छन्।
हिमाञ्चलको जेभी कम्पनीमा काम गर्दै आएका शेर लामा थोक्राले भने, ‘परिवारसहित उतै गएर काम गर्न थालेको २६ वर्ष भयो। घर बनाउन गाउँ आएको चार महिना भयो।’
निर्माण सामग्रीको अभावले यार्सामा घर पुनःनिर्माणमा ढिलाइ भएको भूकम्पपीडितहरुले बताएका छन्। गाउँमा निर्माण सामग्रीका साथै कामदारको अभाव र भएका कामदारले पनि महँगो ज्याला लिँदा घर निर्माणमा ढिलाइ भएको थोक्राले बताए।
तीन महिनाको छुट्टी लिएर गाउँ आएका यार्साका १५ घरपरिवार घर निर्माण गरेसँगै फर्कने तयारीमा लागेका छन्। घर निर्माण सकाएर केही परिवार भने भारत गइसकेका छन्। भारतको हिमाञ्चल पुगेका उनीहरु वर्षको तीन महिना गाउँमा आउने गरेको बताएका छन्।
नौकुण्ड गाउँपालिकामा रहेका तीन हजार दुई सय ३१ लाभग्राहीमध्ये दुई हजार एक सय ८२ लाभग्राहीलाई दोस्रो किस्ता सिफारिस गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रसुवाले जनाएको छ। लाभग्राहीमध्ये तीन हजार ३६ लाई पहिलो किस्ता, दुई हजार एक सय ८२ लाभग्राहीलाई दोस्रो किस्ता र नौ सय १० लाई तेस्रो किस्ता सिफारिस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।