कैलाली- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ७ नम्बर प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको ११औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले सबै दल सम्भावनाको पहिचान गरी अगाडि बढे प्रदेश ७ देशकै धनी प्रदेश बन्ने दाबी गरे।
उनले कर्णाली, सेती र महाकाली नदीको पानी सदुपयोग गरेर जलविद्युत् र सिँचाइमा प्रयोग गर्नुपर्ने बताए। उनले धनगढी विमानस्थलको स्तरोन्नति गरी पर्यटकलाई भित्र्याएर प्रदेशलाई आर्थिक समुन्नतितर्फ डोर्याउन प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
वार्षिकोत्सव कार्यक्रममा क्याम्पसको नयाँ भवनको उद्घाटन समेत गरिएको छ। नयाँ भवन विश्वविद्यालय अनुदान आयोग, साविक जिल्ला विकास समिति, गेटा गाविस, मालाखेती गाविस, तत्कालीन प्रतिनिधिसभाका सदस्यको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेट गरी कुल दुई करोड ५० लाख लागतमा निर्माण गरिएको हो। उक्त तीनतले भवनमा २६ कोठा छन्।
स्नातकोत्तरसम्म पठनपाठन हुने सो क्याम्पसमा एक हजार दुई सय विद्यार्थी छन्। सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बन्न लागेको यो क्याम्पसमा पछिल्लो पटक फरेस्ट्री विषयको पढाइका लागि समेत पहल थालिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।