एजेन्सी–निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै निर्वाचन आयोगले नतिजा रद्द गरेपछि किर्गिजस्तानका प्रधानमन्त्री कुवात्वेक बोरोनोभले राजीनामा दिएका छन्। कोरोना महामारीका बीच किर्गिजस्तानमा आइतबार संसदीय निर्वाचन भएको थियो। निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजधानी बिस्केकमा ठूलो प्रदर्शन भएको थियो।
संसदको मंगलबार बसेको आपतकालीन बैठकले विपक्षी मेकेन्चिल पार्टीका संस्थापक सादिर झापारोभलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेको छ। सरकारी अधिकारीलाई अपहरण गरेको आरोपमा साढे ११ वर्षको जेल सजाय भोगिरहेका उनलाई प्रदर्शनकारीले मुक्त गराएका थिए।
प्रदर्शनकारीहरुले राष्ट्रपति कार्यालय तथा संसद रहेको भवन ह्वाइटहाउसमा पनि आक्रमण गरेका थिए। प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको पनि ज्यान गएको थियो।
प्रदर्शनको समर्थनमा राजधानी बिस्केक र ओश सहरका मेयरले पनि राजीनामा दिएका छन् भने संसदमा सभामुखले पनि राजीनामा दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।