एजेन्सी–फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिडसम्बन्धी पोस्ट हटाइदिएको छ। कोभिड–१९ फ्लुभन्दा कम घातक हो भन्ने पोस्ट हटाइएको हो।
उनले लेखेका छन्, ‘अमेरिकाले फ्लुको सिजनका साथ बाँच्न सिकेको छ, यद्यपि हामीले कोभिडका साथ बाँच्न सिकिरहेका छौं, अधिकांश जनसंख्यामा यो निकै कम घातक छ।’
ट्रम्पले यही कुरा ट्वीटरमा पनि ट्वीट गरेका थिए। ट्वीटरल यसलाई हाइड गरिदिएको छ भने फेसबुकले डिलिट नै गरिदिएको हो। ट्वीटरमा उनको ट्वीटमा ‘भ्रामक र सम्भावित हानिकारक जानकारी हुनसक्छ’ भन्ने चेतावनीयुक्त सन्देश राखिएको छ। प्रयोगकर्ताले यो सन्देश क्लिक गरेमा ट्रम्पको ट्वीट देख्न सकिन्छ ।
फेसबुकका नीति सञ्चार प्रबन्धक एण्डी स्टोनले भने, ‘हामी कोभिड १९ बारेको गलत जानकारी हटाउँछौं, हामीले यस पोस्टलाई हटाइदिएका छौंं।’
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अन्य रुघाभन्दा कोभिड १० गुणा बढी घातक हुनसक्नेछ।
यसअघि पनि फेसबुकले ट्रम्पको पोस्ट हटाएको थियो भने ट्वीटरले पोस्ट डिलिट गर्ने चेतावनीहरु दिइसकेको छ। तर ट्रम्पले यी सामाजिक सञ्जालका कारबाहीप्रति आपत्ति जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।