काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बेन्नी ओमरले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताए।
उनले भने,‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजरायलको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ।’ उनले कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए। ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणाको स्रोत हो।,’ उनले भने।
इजरायलका राजदूत ओमरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताए। उनले भने,‘मौरीपालन, फलफूल र तरकारी उत्पादन हाम्रा मुख्य प्राथमिकताका विषय हुन्। यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौँ।’
‘सिकौँ र कमाऔँ’ भन्ने नीति आफूहरुको रहेको बताउँदै राजदूत ओमरले नेपालमा व्यावसायिक तालीम केन्द्र खोल्न इच्छुक रहेको पनि बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।