पोखरा–पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन्।
आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य नगर्ने प्रतिबद्धता जनाए। विश्वविद्यालयको समस्या र अन्योलता समाधानका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको र नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न आफूले सुझाव पाएको उनले बताए। ‘म जागिर खान आएको होइन,’ अर्यालले भने, ‘मलाई अब कसरी यो विश्वविद्यालय बनाउने र व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता छ ।’
उनले पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको बताए।
विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, व्यवस्थापन सङ्कायका डीन प्रा हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल इञ्जिनीरिङ्गका स्कूल निर्देशक डा रामप्रसाद अर्याल, विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, प्राध्यापक सङ्घका अध्यक्ष हेमराज पाण्डे तथा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित र सहप्रशासक तारा सापकोटाले विश्वविद्यालयका समस्या र सुधारका बारेमा सुझाव प्रस्तुत गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।