काठमाडौं– बालविवाह न्यूनीकरणका लागि आजदेखि सय दिने अभियान सुरु हुने भएको छ।
सामुदायिक रेडियो प्रचारक संघ (अकोराब), सामुदायिक सूचना नेटवर्क (सिआइएन) र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहकार्यमा आगामी साउन २३ गतेसम्म सो अभियान सञ्चालन हुने बताइएको छ।
सिआइएनका प्रमुख दीपक आचार्यले अझै पनि नेपाली 8मा हुँदै आएको बालविवाहविरुद्ध सञ्चारमाध्यमबाट विभिन्न व्यक्तिको प्रतिबद्धता र विचार प्रस्तुत गरिने बताए। उनले भने,‘हामी अभियान अवधिभर देशभरका दशौँ हजार व्यक्तिसम्म पुग्नेछौँ। सामुदायिक रेडियोहरूले विभिन्न ठाउँहरूबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल र जनताका विचारहरू पनि प्रसारण गर्नेछन्।’
उनले बालविवाहसम्बन्धी आफ्ना विचार र प्रतिबद्धता व्यक्त गर्न चाहने व्यक्तिले सिआइएनको स्टुडियोमा गएर वा टेलिफोन, मोबाइलमा रेकर्ड गर्नसक्ने व्यवस्था भएको जानकारी दिए।
वल्र्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधि पुष्कर खातीले अभियान कुनै आयोजना नभएर जनचेतना वृद्धि गर्दै बालविवाह नियन्त्रणमा सहयोग गर्ने हेतुले सञ्चालन गर्न लागिएको बताए।
युनिसेफको तथ्यांकअनुसार दक्षिण एशियामा बालविवाहको दर सबैभन्दा उच्च छ। हरेक २ मध्ये १ बालिकाको विवाह १८ वर्ष नपुग्दै हुन्छ। सो तथ्यांकलाई आधार मान्ने हो भने एसियामा बङ्गलादेश, भारत र नेपाल बालविवाह हुने देशमा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा पर्छन्।
सन् २०१७ अगष्ट १० मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने ५ वर्षीय अभियान पनि सञ्चालन भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।