काठमाडौं- २१ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीको सत्याग्रह ७२ घण्टाभित्रै अन्त्य गर्ने पहल नगरे कठोर कदम चाल्ने नेपाल चिकित्सक संघले जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त कदमबाट उत्पन्न गम्भीर परिस्थितिको जिम्मेवार सरकार आफैँ हुनुपर्ने संघले जनाएको छ।
यसअघि गरेका हरेक पहललाई सरकारले नजरअन्दाज गरेको भन्दै डा केसीको जीवन रक्षाका लागि ७२ घण्टाभित्र वार्ता टोली गठन गरी वार्ताको माध्यमबाट अविलम्ब सत्याग्रहको अन्त्य गर्न संघले सरकारलाई ध्यानाकर्षण गराएको हो।
‘संघले आयोजना गरेका विभिन्न बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई दिएको म्यान्डेटअनुरूप डा केसीको जीवन रक्षाका निम्ती नेपाल सरकारले ७२ घण्टाभित्र वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अबिलम्ब सत्याग्रह अन्त्य गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।’
यदि ७२ घण्टाभित्र पनि कुनै पहल अगाडि नबढाए जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने भन्दै संघले, ‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कडोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुनसक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ।’
डा केसी विभिन्न ६ बुँदे माग राखेर २९ भदौदेखि आमरण अनसनमा छन्। अनसनको २१ दिनसम्म पनि सरकारले माग पूरा गर्ने तर्फ कुनै चासो दिएको छैन।
अनसनका कारण डा केसीको स्वास्थ्य भने जटिल बन्दै गएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।