चितवन–चालु आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा मरेका छन्। चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुई–दुई वटा गैँडा मरेका हुन्। भदौमा मरेका दुई गैँडामध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको रामले जानकारी दिए। ‘यस आर्थिक वर्षमा मरेका पाँच गैँडामध्ये चारवटा गैँडा कालगतिले मरेका छन्’, निकुञ्जका सूचना अधिकारी रामले भने, ‘भदौ १६ गते मरेको गैँडाको प्रकृति र शरीरमा लागेको चोट हेर्दा त्यो चोरी शिकारीका कारण मरेको निकुञ्जले निष्कर्ष निकालेको छ।’
चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्ष सुरु भएपछि साउन १७ गते पहिलो गैँडा मृत फेला पारेको थियो। त्यसपछि भदौ ६ मा पनि निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो । रामका अनुसार ती दुवै मृत फेला परेका गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेका हुन् । त्यस्तै निकुञ्जभित्र भदौ २१ गते पनि मृत गैँडा भेटिएकामा त्यो गैँडा कालगतिले नमरेको रामले बताए।
‘भदौ १६ गते निकुञ्जको सुरक्षा टोलीले गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोली निस्किएको थियो’, रामले भने, ‘खोजीमा निस्किएको टोलीले पाँच दिनपछि भदौ २१ गते बाँदरझुला टापुको घोलमा मृत गैँडा फेला पार्यो ।’ भदौ २१ गते मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित भेटिएको भए पनि टाउकोमा गोली लागेको घाउ भेटिएको उनले बताए। टाउकोमा गोलीको घाउ देखिएको मृत गैँडाको परीक्षणका क्रममा गोली भने फेला नपरेको रामले जानकारी दिए।
त्यस्तै असोज महिनामा १६ र १७ गते गरी दुईवटा गैँडा मृत अवस्थामा भेटिएका छन् । असोज १६ गते शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को लामीचौरमा रहेको निकुञ्जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृत अवस्थामा फेला परेको थियो । शुक्रबार भेटिएको मृत गैँडा एक–दुई महिनाअघि मरेको हुनसक्ने अनुमान गरिएको छ । सडेको अवस्थामा भेटिएको उक्त मृत गैँडाको पनि खाग र खुर सुरक्षित भेटिएको थियो।
त्यस्तै शनिबार मात्रै पनि नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैँडा त्रिवेणीमा भेटिएको छ। गैँडाको पुरानो बासस्थान निकुञ्जको मुख्य क्षेत्रबाट सो गैँडालाई नारायणी नदीले बगाएर त्रिवेणी पु¥याएको हुनसक्ने सूचना अधिकारी रामले बताए। निकुञ्जबाट नदीमा बग्दै गएका अन्य कम्तीमा दुईवटा गैँडा त्रिवेणी क्षेत्रमा रहेका छन् । ती बग्दै गएका गैँडाहरु कहिले सुस्तातर्फको उखुबारीमा त कहिले भारतीय क्षेत्रमा आवतजावत गर्ने गरेको निकुञ्जले जनाएको छ।
दुर्लभ जनावर एकसिङ्गे गैँडाको मुख्य बासस्थानको रुपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६४५ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा भेटिएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।