रूपन्देही- प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि बुटवलका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले शनिबार एक विज्ञप्ति जारी गर्दै बुटवलका विभिन्न स्थानमा सरकारी सवारी तोडफोड, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरू देखिएकाले शान्ति सुरक्षा बनाइराख्नका लागि केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको बताइएको छ।
उक्त विज्ञप्तिमा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि बुटवलका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने जनाइएको छ।
जिप्रकाले तोकेको निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न/गराउन ५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाइने विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको उल्लेख गरिएको छ ।
त्यसैगरी, मन्त्रालय रहेको दक्षिणमा सुन्दर चोक, उत्तरतर्फ भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जनाभन्दा धेरै भेला हुन नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । यसका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत् चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने विज्ञप्तिमा बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।