काठमाडौं- यही वैशाख १० गतेदेखि शुरु भएको वाग्मती तीर्थयात्राको समापन पशुपतिमा पूर्णाहुतिसहित गरिएको छ।
कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोशको दूरीमा भएको यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १ सय ६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिएको थियो। पशुपति रुद्रगाडेश्वरमा आयोजित यात्रा समापनको संकल्प पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले गरे।
यात्रा सुरुआतको संकल्प कोषका सदस्य सचिव डा प्रदीप ढकालले गरेका थिए। यात्रा समापनका अवसरमा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा गरियो।
वाग्मती प्रदूषित भएपछि रोकिएको यात्रा ४० वर्षपछि पुनःसञ्चालन गर्न कोषले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो। यात्रामा गरिनुपर्ने विधिविधानका सबै काम पशुपति आगम घरका पूजारी मदन भट्टले पूरा गर्नुभयो। १७ दिनको यात्रालाई यस वर्ष सात दिनमा झारिए पनि विधि सबै पूरा गरिएको उनले बताए। अर्को वर्ष १७ दिनकै यात्रा चलाइने कोषले जनाएको छ।
वाग्मती यात्रा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले पनि विशेष चासो दिएको थियो। मन्त्रालयले १०० दिनभित्र गर्ने काममा वाग्मती यात्रा समेत परेको छ। सो कार्यक्रम मन्त्री रविन्द्र अधिकारीले चैत १६ गते सार्वजनिक गरेका थिए।
सो यात्रा नेमुनिले चलाएको विश्वास गरिन्छ। सो क्रममा विभिन्न स्थानमा वाग्मतीको तन्त्र साधनासमेत गरिएको थियो। पशुपतिनाथका मूल भट्ट गणेश भट्टको उपस्थितिमा भक्ति र शास्त्रीय संगीतको कार्यक्रम समेत गरियो। लामो समयदेखि रोकिएको यात्रा पुनःसञ्चालनले भावी पुस्तामा वाग्मती तीर्थ यात्राको महत्व चेतना जागृत हुने सदस्य सचिव डा ढकालले बताए।
यात्रामा उत्साहका साथ वाग्मती किनारवासी पनि सहभागी भएका थिए। ४० वर्षपछि यात्रा सञ्चालनले वाग्मती सफाइ महाअभियानलाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।