काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आगामी बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ।
केन्द्रीय अध्यक्षले विधान र मूल्य-मान्यता विपरीत मनोमानी ढंगले गरेका नियुक्ति, मनोनयन र निर्णयका कारण संगठनमा विधिविहीनताको अवस्था उत्पन्न भएको भन्दै समाधानका लागि बैठक बोलाइएको महामन्त्री कुन्दनराज काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।
बैठक बिहीबार १ बजे भृकुटीमण्डपस्थित वाल्मीकी विद्यापीठमा बोलाइएको छ।
अध्यक्ष नैनसिंह महरले संगठनको साख जोगाउन नसकेकाले बाध्य भई केन्द्रीय समितिको बैठक डाक्नुपरेको महामन्त्री कुन्दनराज काफ्लेले बताए।
एक वर्षभन्दा लामो समयदेखि बैठक हुन नसकेर विधिविहीन हुँदाको अवस्थामा क्याम्पस तथा जिल्लाहरुमा संगठनभित्रका साथीहरुबीच चरम द्वन्द्व सिर्जना भएको विज्ञप्तिमा जनाइएको छ।
अन्यौलको निराकरण गर्न संगठन एवं माउ पार्टीको नेतृत्वसामु कुरा लगे पनि सुनुवाइ नभएको भन्दै विज्ञप्तिमा भनिएको छ, 'केन्द्रीय समितिको बैठकले नै अन्यौल निवारण गर्दै विधिवत ढंगबाट १२औं महाधिवेशनको मार्गचित्र निर्माण गर्नु अत्यावश्यक भएकाले ऐतिहासिक जिम्मेवारी महसुस गर्दै बैठक बोलाइएको हो।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।