एजेन्सी–रुसमा एक पत्रकारले आफैंलाई आगो लगाई आत्महत्या गरेकी छन्। ‘कोजा प्रेस’ नामक समाचार अनलाइनकी प्रधानसम्पादक इरिना स्लेभेनियाले निज्नी नोभगोरोड सहरस्थित गृहमन्त्रालय कार्यालयअगाडि आगो लगाएर आत्महत्या गरेकी हुन्।
आत्महत्या गर्नुअघि उनले फेसबुकमा आफ्नो मृत्युको दोष रुसी महासंघलाई लगाउन आग्रह गरेकी थिइन्। अधिकारीहरुले उनको शव आगोले नराम्ररी जलेको अवस्थामा फेला परेको जनाएका छन्।
सिसिटीभी फुटेजमा उनले गृहमन्त्रालय अगाडिको सडकको बेन्चमा बसेर आगो लगाएको र बचाउन आउनेहरुको प्रयासलाई समेत अस्वीकार गरेको देखिएको छ।
प्रहरीले आफ्नो घरमा छापा मारी प्रजातन्त्रसमर्थक समूहसम्बन्धी कागजात खोजेको र कम्प्युटरसहित केही डाटाहरु कब्जामा लिएको उनले जनाएकी थिइन्।
उनले चलाएको अनलाइनको नारा नै ‘विना सेन्सरसिप’ थियो। गत वर्ष पनि लेखमार्फत् सरकारी अधिकारीहरुको अपमान गरेको भन्दै उनलाई जरिवाना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।