धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्र मास्न लागेकाले कांग्रेस चाँडै सडकमा आउने बताएका छन्।
कैलालीको धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले सरकारको यस्तै रबैया रहे लोकतन्त्रको रक्षाका लागि कांग्रेस सडकमा आउने बताए।
'ओली नेतृत्वको सरकार राष्ट्रवादी भन्दै लोकतन्त्र मास्न अघि बढेको छ, यसमा कांग्रेस चुप लागेर बस्दैन’, उनले भने।
देउवाले सरकार आफूले जनताका हितमा गरेका निर्णयहरु पनि उल्टाउन लागिपरेको समेत आरोप लगाए।
निर्वाचनमा हार्नुका कारणबारे पत्रकारको प्रश्नमा देउवाले वाम गठबन्धन हुनु नै हारको मुख्य कारण रहेको औंल्याए।
'मंसिरको निर्वाचनमा कांग्रेस हार्नुको मुख्य कारण दुई ठूला पार्टी एक हुनु नै हो’, उनले भने, 'यससँगै आफ्नै उम्मेदवारबीच पनि धेरै ठाउँमा अन्तर्घात भयो, यसले पनि कांग्रेस कमजोर भयो।’
सभापति देउवाले आगामी दिनमा कांग्रेसलाई एकढिक्का बनाई अबको ५ वर्षमा पुन: देशको ठूलो दल बनाउने पनि बताए।
देउवा मंगलबार बिहान कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटनका लागि कैलाली आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।