रुकुम- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताएका छन्।
आज मुसीकोट खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमा उनले उक्त भेटघाटले दुवै देशबीच सम्बन्ध सुधारसँगै शान्ति र समृद्धिको मार्गचित्र कोरिएको बताए। दुई मुलुकबीचको विवादका कारण तेस्रो विश्वयुद्ध उत्पन्न हुन सक्ने आशंका गरेका बेला भेटवार्ताले नयाँ सन्देश दिएको उनको भनाइ थियो।
नेपालका नेता जान डराउने कोरियामा आफू गएर स्थायी शान्ति र दुई देशबीचको द्वन्द्व अन्त्यका लागि दक्षिण कोरियाका राष्ट्रपति मुनलाई सुझाव दिएको स्मरण गराउँदै नेता नेपालले उक्त भेटघाटको प्रशंसा गरे। दुई मुलुक एकापसमा मिल्नुको विकल्प नभएको भन्दै उनले अब भाइ–भाइको सम्बन्ध स्थापित हुनुपर्ने भनाइ राखे।
यसअघि उत्तर कोरियाली नेता किम जङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए। केही महिनाअघिको वाक्युद्धको स्थितिपछि दुई कोरियाबीच भएको शिखर बैठकमा त्यस्तो सहमति गरिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।