काठमाडौं- कोभिड-१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई विलम्ब शुल्क नलिन निर्देशन दिएपछि प्राधिकरणले असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने भएको छ। त्यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने प्राधिकरणले जनाएको छ।
‘२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९ को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटररिडिङ तथा बिलिङ समयमा हुन नसकी महसुल भुक्तानीका सम्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने बुझिन आएको छ,’ प्राधिकरणले मंगलबार बेलुका जारी गरिएको सूचनामा भनिएको छ, ‘भाद्र महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ।’
कुनै उपभोक्ताले २०७७ साल भाद्र महिनाको महसुल भुक्तानी गर्दा थप दस्तुर यसअघि नै तिरिसकेको भए उक्त रकम आगामी बिलमा समायोजन गरिने पनि प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।