काठमाडौं- सरकारले दशैं, तिहार, छठलगायत चाडबाडलक्षित सहुलियत खाद्यान्न पसल असोज १५ गतेबाट संचालनमा ल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनले उपत्यकाभित्र र बाहिरका केही जिल्लाहरमा समेत आफ्ना कार्यालयहरुमार्फत् बिक्री वितरण गर्नेछन्।
यस्ता सहुलियत पसल आगामी मंसिर ६ गतेसम्म संचालनमा आउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए। उपत्यकाभित्र खाद्य व्यवस्था कम्पनीको कार्यालय थापाथली, रामशाहपथ, नख्खु, लगनखेल, र सूर्यविनायकमा यस्ता सहुलियत पसल राखिनेछ। त्यस्तै साल्ट्र ट्रेडिङको सतुंगल, कोटेश्वर, ललितपुर, भक्तपूर र बनेमामा रहेका बिक्री काउन्टरमार्फत् यस्ता सहुलियत पसल संचालन हुनेछन्।
सहुलियत पसलमा कुन खाद्य वस्तुको मुल्यमा कति छुट पाईने भन्ने विषय भने टुंगन बाँकी रहेको सुवेदीले नेपाल लाइभसँग बताए। ‘कुन वस्तुमा कति मूल्य छुट दिने भन्ने टुंग्याउन बाँकी छ। तर हामीले आन्तरिक रुपमा चामलमा प्रतिकिलो ५ रुपैयाँ, सिमी र मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने भन्ने तयारी गरेका छौं। मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ’ उनले भने। त्यस्तै साल्ट्र ट्रेडिङले नूनमा प्रतिकिलो २ रुपैयाँ र चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिइनेछ।
‘असोज १५ गतेबाट मंसिर ६ गतेसम्म सहुलियत पसल संचालन गर्ने र एउटा कम्पनीले अर्को कम्पनीको सामान पनि बेच्ने भन्ने टुंगो लाग्यो‚’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको छलफलबारे जानकारी दिँदै सुवेदीले भने‚ ‘अरु विषय टुंगिन बाँकी छन्। विस्तृत कार्यविधिमा आउँछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।