काठमाडौं- नेपाल राष्ट्र बैंकले कोभिड पीडितलाई पुनर्कर्जाको लागि आवेदन दिने समय थप गरेको छ। बैंकले असोज ३० गतेसम्मका लागि म्याद थप गरेको हो। यसअघि बैंकले असोज १४ गतेसम्म पुनरकर्जाको लागि आवेदन दिन निर्देशन दिएको थियो।
स्थानीय निकायले कोभिड १९ को रोकथामको लागि लकडाउन, निषेधाज्ञा जस्ता कारणले आवेदन दिन नपाएको भन्दै सरोकारवाला निकायले समय बढाइदिन अनुरोध गरेपछि राष्ट्र बैंकले समय थप गरेको हो।
लघुवित्त वित्तीय संस्थाबाट कर्जा लगेका ऋणीको हकमा सञ्चालनमा रहेका उद्यम व्यवसायको लागि प्रदान भएको १५ लाख रुपैयाँसम्मका कर्जाहरु पुनर्कर्जा लागि योग्य हुन्छन्। प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे तापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणको भविष्यमा सम्भाव्यता रहेका १५ लाख रुपैयाँसम्मका कर्जाहरु पुनर्कर्जाका लागि योग्य हुनेछन्।
प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु घरेलु तथा साना उद्यमीहरुलाई प्रवाह भएका थप कर्जाहरु। त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु पनि यस्तो सुविधाका लागि योग्य हुने छन्। कृषि उत्पादन तथा प्रशोधन पशुपंक्षी पालन मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरुले पुनरकर्जाको सुविधा पाउन सक्छन्।
सञ्चालनमा रहेका निर्यातजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जाहरू। न्यून आय भएका महिला आदिवासी जनजाती मधेसी दलित फरक ढंगबाट सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरु। रुग्ण उद्योग तथा प्रकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु। वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरुमा पुनर्कर्जा दिइने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले कोभिड पिडितको वर्गिकरण गरेको छ। यसै आधारमा बैंकहरुले नेपाल राष्ट्र बैंकमा पुनर्कर्जाको लागि माग गर्न सक्छन्। त्यसभन्दा अगाडि ऋणीले बैंकमा निवेदन दिनुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।