एजेन्सी–विवादित क्षेत्रका विषयमा अर्मेनिया र अजरबैजानबीच भएको भीषण युद्धमा २३ जना मारिएका छन्। विवादित नागोर्नो–काराबाख क्षेत्रमा आइतबार दुवै देशका सेनाबीच युद्ध भएको हो।
उक्त क्षेत्रमा १६ जना अर्मेनियाली पृथकतावादी लडाकूहरु मारिनुका साथै १ सय जना घाइते भएको उक्त समूहले जनाएको छ। दुवै पक्षले आ–आफ्नोतर्फ मानवीय क्षति भएको जनाएका छन्। यस्तै, अर्मेनियाली पृथकतावादीको आक्रमणमा ५ जना अजरबैजानी नागरिक मारिएको अजरबैजानका अधिकारीहरुले जनाएका छन्।
तनावपछि अर्मेनिया, अजरबैजान र अर्मेनियानियन्त्रित नागोर्नो काराबाख क्षेत्रमा सैनिक कानुन लागू गरिएको छ भने अजरबैजानले आफ्ना सेनालाई परिचालित हुन निर्देशन दिएको छ।
विवादित क्षेत्रमा अर्मेनियाका नागरिकले बसोबास गरे पनि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको जमिन भएको उल्लेख गरिएको छ। सन् १९९१ मा पतन हुनुपूर्व अर्मेनिया र अजरबैजान सोभियत संघको हिस्सा थिए।
यसैबीच, संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन्। राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले तत्काल युद्ध अन्त्य गरी अर्थपूर्ण वार्तामा बस्न आग्रह गरेका छन्।
अमेरिकाले पनि अर्मेनिया र अजरबैजानबीच हिंसा भड्किएकोमा भर्त्सना गर्दै तत्काल युद्धविराम गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।