काठमाडौं–कोरोना महामारी फैलिएसँगै अहिले नेपालमा पनि अहिले फेस मास्कको व्यापार बढिरहेको छ। सरकारले पनि घर बाहिर निस्कँदा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम लगाएको छ। मास्क नलगाई आवतजावत गर्नेलाई सरकारले कारबाहीसमेत गरिरहेको छ। जसका कारण अहिले मास्क अत्यावश्यक बस्तु बनेको छ।
विश्वमा कोरोनाको महामारी सुरु भएसँगै मास्कको चरम अभाव भएको थियो। नेपालले पनि मास्कको अभाव थेग्नु परेको थियो। सुरुवाती चरणमा मेडिकल मास्क अभाव हुँदा कपडाको मास्क बढी प्रयोगमा आएका थिए। तर बिस्तारै नेपालमै मास्क उत्पादन सुरु भएसँगै अहिले यसको अभाव छैन।
सुरुमा नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दीपक मल्होत्राले मेसिन मगाएर मास्क उत्पादन थालेका थिए। मल्होत्राले मास्क उत्पादन थालेसँगै अन्य व्यवसायीले पनि मेसिन ल्याउँदै मास्क उत्पादन थाले। जसका कारण अहिले बजारमा सहजै मास्क पाउन थालिएको छ।
सुरुवाती चरणमा एउटा मेडिकल मास्कको २५ रुपैयाँसम्म परे पनि अहिले मूल्य पहिलेकै अवस्थामा आइसकेको छ। अहिले खुद्राबजारमा एउटा मास्क १० रुपैयाँमा पाउने अवस्था आइसकेको छ। यसको एउटै कारण हो मास्क उत्पादन आवश्यक मात्रामै नेपालमा उत्पादन हुन थालेको छ।
चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो दुई महिना साउन र भदौमा मात्र फेस मास्क बनाउने १ सय वटा मेसिन नेपाल भित्रिएको छ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो २ महिनामा भारत तथा चीनबाट फेस मास्क उत्पादन गर्ने मेसिन नेपाल भित्रिएका छन्।
विभाग सार्वजनिक गरेको तथ्यांकका अनुसार २ महिनामा फेस मास्क बनाउने मेसिन भारतबाट ८७ वटा र चीनबाट १७ वटा नेपाल भित्रिएका छन्।
दुई महिनाकै अवधिमा फेस मास्क उत्पादन गर्ने मेसिन आयातमा ७ करोड ७९ लाख ६ हजार रुपैयाँ नेपालबाट विदेशिएको छ। जसमा भारतबाट आयात भएका ८७ वटा मेसिनका लागि ५ करोड २१ लाख ५४ हजार र चीनबाट आयात भएका १७ वटा मेसिनका लागि २ करोड ५७ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ। यसैगरी सरकारले फेस मास्क बनाउने मेसिन आयातबाट २५ लाख ६९ हजार रुपैयाँ भन्सार राजस्वसमेत संकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।