काठमाडौं- नेपाली कांग्रेस प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले पराजय भोग्नुका दुई कारण खुट्याएको छ।
चुनावी हारको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले चुनावको बेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुनु र नाकाबन्दीको बेला पार्टीले नबोल्नु नै हारको कारण रहेको पहिल्याएको छ। यसमा पनि वाम गठबन्धनलाई हारको प्रमुख कारण औंल्याइएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
चैत ९ गतेदेखि सुरु भएको बैठक आज सकिएसँगै बैठकले हारको निष्कर्ष निकालेको हो। बैठकमा झन्डै ७० सदस्यले आफ्नो धारणा राखेका थिए।
बैठकले पार्टीको महासमिति बैठक आगामी भदौमा बोलाउने निर्णय गरेको छ। मिति भने पछि टुंगो लगाउने केन्द्रीय सदस्य दिलेन्द्र बडुले बताए। यस्तै, पार्टीको संसदीय बोर्ड भंग गरिएको छ भने केन्द्रीय कार्य सम्पादन समिति पुनर्गठन गरिने भएको छ।
केन्द्रीय कार्यसमिति बैठकले बोर्ड भंग गरेको हो। संसदीय बोर्ड विधान विपरीत भएको भन्दै खारेज गर्न माग गरिएको थियो।
पदाधिकारी चयनका लागि सोमबार बिहान निर्वाचित केन्द्रीय समितिको बैठक बोलाइएको छ। यसको रामचन्द्र पौडेल पक्षले भने विधान र नियम विपरीत भन्दै आपत्ति प्रकट गरेको छ।
महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा गुटहरूको विवाद मिल्न नसक्दा केन्द्रीय कार्यसमिति बैठकमा विवाद भएको थियो। जसका कारण दुई दिनसम्म बैठक अन्यौलमा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।