मुम्बई (एजेन्सी)- बलिउड अभिनेता ऋषि कपुर फिल्म क्षेत्रमा देखिने गरेका समकालीन प्रवृत्तिप्रति टीका-टिप्पणी गरिहाल्छन्। हालै उनले अभिनेताहरुले जिमलाई बढी ध्यान दिएकोमा निराशा व्यक्त गरेका छन्। उनले अभिनेता बन्ने इच्छा राख्नेहरुले कलाभन्दा पनि जिम जाने कुरालाई महत्त्व दिएको बताएका छन्।
फिल्म स्कुल गएर पढ्ने र सेटमा अभिनय प्रशिक्षण लिएर नयाँ कलाकारले अग्रजहरुबाट सिक्न सक्ने उनको भनाइ छ।
ऋषिले भनेका छन्, 'म के देखिरहेको छु भने, मानिसहरु अभिनेता बन्न जिम जान चाहेको बताउँछन्। जिम किन जाने? तपाईं अभिनय सिकाउने कुनै संस्थामा किन जानुहुन्न? तपाईंले एउटा राम्रो निर्देशकसँग काम गर्नुपर्छ र योग्य कलाकारहरुले काम गरिरहेको फिल्मसँग जोडिनुपर्छ, जसले गर्दा उनीहरुको काम नजिकबाट हेरेर कुरा बुझ्न सक्नुहोस्।'
उनले थप भनेका छन्, 'अहिले धेरै जना कलाकार बन्नका लागि जिम जाने, घोडसवारी गर्ने वा युद्धकौशल सिक्नेबारे किन सोचिरहेका छन् भनेर म बुझ्नै सकिरहेको छैन। यो सबै वाहियात कुरा हो।'
ऋषि अभिनीत पछिल्लो फिल्म '१०२ नटआउट' मे ४ मा प्रदर्शन आउँदै छ। यो फिल्ममा अमिताभ बच्चन पनि मुख्य भूमिकामा छन्। ऋषि र अमिताभ फिल्म 'अजूबा' (१९९१) मा काम गरेको २७ वर्षपछि एकसाथ देखिँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।