महोत्तरी– विद्यार्थी भर्ना अभियानको प्रभावले महोत्तरीका दलित समुदायका बालबालिका विद्यालयसम्म जान सक्षम भएका छन्।
जिल्लाको गौशाला नगरपालिका–९ मुसलमान बस्तीका विद्यालय जाने उमेर समूहका बालबालिका अहिले नियमितरुपमा २ किलोमिटरको दूरीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका छन्।
विद्यालयले विद्यार्थी भर्ना अभियानको क्रममा शिक्षक–शिक्षिकालाई घरघरमै गएर बालबालिकालाई पढ्नका लागि उत्प्रेरणा जगाएपछि बालबालिका विद्यालयसम्म आउन सफल भएका हुन्।
स–साना बालबालिका एकाबिहानै आँखा मिच्दै २ किलोमिटरको पैदलयात्रा तय गरी पढ्नका लागि जाने गरेको स्थानीय सूर्यदेव महतोले बताए। ‘पहिले–पहिले बस्तीका बालबालिका अरुको खेतमा गएर आमा–बाबुसँग काम गर्थे। तर अहिले सो बस्तीका बालबालिका एकाबिहानै झोलामा कापी कलम लिएर विद्यालय जाँदै गरेको देख्नसक्छौं।’, महतोले भने।
यता विद्यालय भर्ना अभियानलाई सफल पार्नका लागि सो बस्ती पुगेका सञ्चारकर्मीको टोलीलाई देख्ने बित्तिकै बस्तीका बालबालिका घरमा गएर लुकेका थिए। पछि टोलीले अभिभावकसँग कुराकानी गर्दा उनीहरु बाहिर निस्केर पढ्नका लागि सहमत भएका बताइएको छ।
अभियानको भोलिपल्ट सो बस्तीका १० जना बालबालिका नजिकै रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कालिपुरमा भर्ना भएको विद्यालयका प्रधानाध्यापक देवनारायण महतोले जानकारी दिए। प्रधानाध्यापक महतोले सो समुदायका बालबालिकालाई तत्कालको लागि कापी, कलम वितरण गरेको र केही दिनमै नयाँ किताब पनि दिइने तयारी भइरहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।