काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दुई वटा कम्युनिस्ट पार्टी मिलेकाले पार्टीले चुनाव हारियो भन्नु कुनै जवाफ हुन नसक्ने बताएका छन्।
पार्टीको भ्रातृ संगठन 'मुस्लिम संघ नेपाल'को दोस्रो महाधिवेशनको उद्घाटन समारोहमा शनिबार सानेपामा सम्बोधन गर्दै नेता पौडेलले हारको गम्भीर आत्मसमीक्षा जरूरी रहेको बताए।
'किन चुनाव हारियो त्यसको खोजी गर्नुपर्छ', नेता पौडेलले भने, 'आफैंप्रति गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नुपर्छ। आफैंलाई सुधारेर अघि बढ्नुपर्छ। त्यो जरूरी छ।'
'चुनाव हार्नुमा कसको कहाँ कति जिम्मेवारी छ, त्यो लिनुपर्छ', नेता पौडेलले भने, 'अहिले त के भनिँदै छ भने, दुई वटा कम्युनिस्ट पार्टी मिले त्यसैले हारियो। यो कुनै उत्तर होइन।'
पौडेलले अबको लडाइँ अधिनायकवादी शक्तिसँग भएको पनि बताए।
'अबको लडाइँ अधिनायकवादी शक्तिसँग हो। कम्युनिस्ट शक्तिसँग हो', उनले भने, 'हामीले अब त्यसमा खरो उत्रन सक्नुपर्छ।'
उनले जनताको स्वार्थसँग पार्टीलाई जोडेर सफल हुन सकिने बताए।
कार्यक्रममा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मुस्लिम समुदायको बिदा कटौतीप्रति असन्तुष्टि जनाए। उनले बिदा दिलाउन आफूले पहल गर्ने आश्वासन समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।