कञ्चनपुर- विद्यालय भर्ना नभएका बालबालिका खोज्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थालेका छन्।
विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उनले शिक्षाको महत्वबारे सम्झाउँदै हिँड्न थालेका हुन्।
'शिक्षाबाटै देशलाई परिवर्तन गर्न सकिन्छ, अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले विद्यालय पठाउन कन्जुस्याइँ नगर्नुस्', नगरप्रमुख ऐरले नगरपालिकाको वडा नं ९ सिसैयामा अभिभावकका घरमा पुगेर भने, 'एक छाक खाएर भए पनि बालबालिकालाई विद्यालयमा भर्ना गराउनोस्।'
उनले सामुदायिक विद्यालयमार्फत पाठ्यपुस्तक निःशुल्क प्राप्त हुने, गरीब र जेहन्दारका लागि झोला, अभ्यास पुस्तिका र पोशाकका लागि छात्रवृत्ति मिल्ने भन्दै उनले आफ्ना बालबालिकालाई पढाउने इच्छाशक्तिको मात्र खाँचो रहेको भनेर अभिभावकलाई सम्झाए।
घरदैलोमा पुगेका नगरप्रमुखको कुरा सुनेपछि अभिभावक बन्धु चौधरीले भने, 'यो सबै कुरा थाहा थिएन, बालबालिकालाई विद्यालय पठाउन कन्जुस्याइँ गर्दैनौं, ढुक्क भए हुन्छ।'
नगर प्रमुख ऐर वडाध्यक्ष, वडा सदस्य र शिक्षकसँगै वडा नं ४, ६, ९ र ११ वडाका अभिभावकको घरदैलोमा पुगेर चेतनामूलक कार्यक्रममा व्यस्त भएका छन्। उनी दिनको दुई घन्टा यसरी विद्यार्थी भर्नाका लागि घरदैलोमा जुट्ने गरेका छन्।
नगर प्रमुख घरदैलोमा पुग्न थालेपछि निजी विद्यालयमा पढाउँदै आएका अभिभावकले समेत बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन्। जनचेतनामूलक कार्यक्रम गरिएपछि राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा मात्रै १६ जनाभन्दा बढी निजी विद्यालयमा पढ्दै आएका बालबालिका भर्ना भएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।