काठमाडौं– काठमाडौं महानगरपालिका, शिक्षा विभागले ‘शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय’ काठमाडौंलाई विद्यालय व्यवस्थापनसम्बन्धी अभिलेख हस्तान्तरण गर्न आग्रह गरेको छ।
विभागका प्रमुख प्रल्हाद अर्यालले इकाइ कार्यालयलाई पत्र पठाउँदै काममा सहज बनाइदिनका लागि विद्यालयका व्यवस्थापनसम्बन्धी सबै अभिलेख हस्तान्तरण गर्न आग्रह गरेका हुन्। उनले जिल्लाको माध्यमिकसम्मको शिक्षाको काम संविधानअनुसार स्थानीय तहले गर्ने भएकाले अहिलेसम्म कुनै अभिलेख नआउँदा काम गर्न समस्या परेको उनले बताए।
अर्यालले पटक–पटक तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग अनुरोध गर्दा पनि हस्तान्तरण नगरिएकाले पुनः इकाइ कार्यालयलाई हस्तान्तरण गर्नका लागि पत्र लेखिएको जानकारी दिए। ‘हामीलाई संविधानले माध्यमिक तहसम्मको काम गर्ने अधिकार दिएको छ’, उनले भने, ‘तर अभिलेख नहुँदा काममा समस्या परेको छ। तत्कालीन जिल्ला शिक्षा अधिकारीले हस्तान्तरण नगरेको हुनाले पुनः पत्राचार गरेका हौँ।’
यस्तै उपसचिव अर्यालले महानगरमा भवन अभाव भएकाले इकाइ कार्यालयमा नै कार्यालय स्थापना गर्नका लागि कोठासहित आवश्यक फर्निचर उपलब्ध गराउन आग्रह गरेका छन्। अभिलेख अन्यत्र लैजानुभन्दा त्यही भवनमा राख्दा सजिलो हुने भएकाले एक फ्ल्याटसहित फर्निचर एक हप्ताभित्र उपलब्ध गराउन आग्रह गरिएको अर्यालले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।