त्रिशूली– हावाहुरीसँगै परेको असिनापानीले नुवाकोट जिल्लामा लाखौंँको बालीनाली नष्ट भएको छ।
शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको हो।
शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिए। डा गैरेका अनुसार तरकारी बालीमा घिरौँला, गोलभेडा, काँक्रो, करेलालगायत र फलफूलमा समेत क्षति पुगेको छ।
‘क्षतिको विवरण संकलन गर्न कर्मचारीहरु खटिएका छन्। वडा कार्यालय, गाउँपालिकाको कार्यालय नै क्षतिको विवरण संकलन गर्न लागेका छन्’, डा गैरेले भने, ‘केही दिनमा क्षतिको विवरण आउने छ।’
खेतमा लगाइएको मकै चमरा निस्कने र गोलभेंडा, करेला, काँक्रोलगायत तरकारी टिप्ने बेलामा परेको असिनाले किसान मारमा परेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।