काठमाडौं– बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा सुरु भएको छ।
३ दिनअघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानी काठमाडौं आइपुगेको छ।
उक्त बसका यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए।
बससेवा प्रारम्भसँगै भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले शुक्रबार साँझ यहाँस्थित आफ्नै निवासमा एक स्वागत समारोहको आयोजना गरेका थिए।
त्यस अवसरमा उनले बससेवा प्रारम्भ भएकामा प्रसन्नता प्रकट गर्दै त्यसले बंगलादेश, भारत र नेपालमा समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।
‘तीनवटै मुलुकको पर्यटन, व्यापार–वाणिज्य र जनसम्पर्क विस्तारबाट हाम्रो आर्थिक प्रगति हुनेछ,’ उनले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।